Section 34
सम्पत्ति वा साधन जफत हुने
(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर प्रमाणित भएमा कसूरसँग सम्बन्धित जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको स्वार्थ रहे भएको देहायको सम्पत्ति वा साधन जफत हुनेछः–
(क) शुद्धीकरण गरिएको सम्पत्ति,
(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
(ग) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति,
(घ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी संगठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति, र
(ङ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको साधन ।
(२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निःसर्ग गरेको, निर्दोष व्यक्तिको सम्पत्ति वा साधन भएको वा अन्य कुनै कारणले जफत गर्न नसकिने भएमा कसूरदारको सो मूल्य बराबरको अन्य सम्पत्ति जफत हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन जफत गर्दा कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको कानूनी अधिकारको समुचित रुपमा संरक्षण गर्नु पर्नेछ ।
(४) उपदफा (३) को प्रयोजनका लागि उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको सम्पत्ति वा साधन र सोबाट बढे बढाएको सम्पत्ति देहायको अवस्था विद्यमान भएमा अदालतले जफत गर्ने छैनः–
(क) त्यस्तो व्यक्ति सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
(ख) त्यस्तो सम्पत्ति वा साधन कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको नदेखिएमा,
(ग) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनुभन्दा अगावै प्राप्त गरेको र त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिले कसूरमा प्रयोग गर्न सक्छ भन्ने निजलाई थाहा नभएको देखिएमा ।